असार ९ , २०७८ बुधबार
अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सवारी दुर्घटनामा परेर तीन वर्षदेखि अर्धचेत अवस्थामा रहेकी उनको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जेठ २७ गते उद्धार गरेर उपचार सुरु गरेकी थिइन् । हाल नर्भिक अस्पतालले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । अस्पताल भर्ना भएको भोलीपल्टदेखि नै उनको मुहारमा खुसीको चमक देखिएको थियो । उपचारपछि उनको शरीरका घाउहरु निको हुन थालेको अस्पतालले जनाएको छ । डा. पंकज जलान नेतृत्वको टिमले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विधिबाट उनको उपचार गरिरहेको छ । चिकित्सकका अनुसार, उनले केही दिनदेखि बोल्ने कोशिश समेत गरिरहेकी छन् ।
डा. जलानले भोक लाग्दा निशाले संकेत दिन थालेको र आफूहरुले बोलेका कुरा बुझेजस्तो गरी अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिने गरेको बताए । ब्रेन निकै ड्यामेज भइसकेका कारण निशा पहिलेको जस्तै सामान्य अवस्थामा फर्किने सम्भावना भने न्यून रहेको उनको भनाई छ । मंगलवारबाट चिकित्सकले उनलाई ह्वीलचेयरमा बसाउन समेत सुरु गरेका छन् ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न भन्दै उनी भारत गएकी थिइन् । त्यहाँ भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याएका थिए ।