असार ८ , २०७८ मङ्गलबार
अनमोल केसी । नेपाली फिल्मका सर्वाधिक महंगा र डिमान्डेड अभिनेता मानिने उनले कोरोना महामारी र बाढी-पहिरोबाट पीडितलाई सहयोग गर्नु त टाढाको कुरा सोसल साइटमा जनचेतना फैलाउने खालको एउटा पोस्ट समेत गरेका छैनन् । फिल्म रिलिज हुने समयमा दर्शकलाई ‘भगवान’ को दर्जा दिने अनमोल आज तिनै दर्शक कोरोना र बाढी-पहिरोले समस्यामा पर्दा कुनै प्रकारको सहयोग नगरेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ । यस्तैमा उनले सोमवार निर्जला एकादशीका दिन स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा रहेर काम गर्नेलाई खाना बनाउँदै गरेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट्याएका छन् । भगवान कृष्णका भक्त रहेका अनमोल बुढानिलकण्ठस्थित राधाकृष्ण मन्दिरमा पूजाआजाका लागि पुगिरहेका हुन्छन् । निर्जला एकादशीका दिन त्यहाँ विशेष पूजा राखिएको थियो । त्यसमा अनमोल पनि सहभागी भए । त्यसपछि उनले बुढानिलकण्ठमा रहेको परोपकारी संस्था ‘फूड फर लाइफ नेपाल’ को भान्सामै गएर स्वास्थ्यकर्मीसँगै अन्य फ्रन्टलाइन वर्करका लागि खाना बनाएका हुन् ।